थानकोटबाट सिंहदरबारतर्फ लाग्दै मिटर ब्याज पीडितहरू…

Thankot Times

थानकोट ।

बुधबार साँझदेखि थानकोटस्थित त्रिभुवन पार्कमा बसिरहेका ८ सय जना मिटर ब्याजका पीडित नागरिकहरूको समुहले आज शुक्रबार सिंहदरबार घेराउ गर्ने भएको छ। 

मौसमको कारण हिजो बिहीबारको कार्यक्रम स्थगित गरिएको र आज शुक्रबार बिहानै सिंहदरबार जाने मिटर ब्याज पीडित तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ । 

समितिका प्रवक्ता निर्ग नवीनका अनुसार माैसमका कारणले मिटरब्याज विरुद्ध न्याय मार्चकाे हिजो बिहीबारको कार्यक्रम स्थगन गरिएको थियो ।

सो टोली अहिले बिहान ८ बजे थानकोटस्थित त्रिभुवन पार्कबाट पैदलमार्च गर्दै कलंकी, कालिमाटी, त्रिपुरेश्वर हुँदै सिंहदरबार जाने कार्यक्रम रहेको उनले जानकारी दिए । बिहीबार दिउँसो परेको पानीका कारण उनीहरुले त्रिभुवन पार्कमा रुझेरै रात कटाएका छन् । 

‘न्यायको लागि मार्च’ भन्दै  काँकडभित्ता र गड्डाचौकी नाकाबाट १६ माघमा सुरु भएको मिटरब्याज पीडितको यो मार्च २३ दिनको दिन काठमाण्डौ आइपुगेको हो। 

माग सम्बोधन नभएसम्म पीडितहरु घर नफर्कने उनीहरूको अडान छ ।

सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै ३० हजार पीडितको समस्या नसुल्झिँदा आफूहरू न्यायका लागि यात्रा गरिरहेको मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । न्याय खोज्न हिँडेका पीडितहरू तराईका २० र भित्री मधेशका आठ गरी २८ जिल्लाका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *