चन्द्रागिरि नगरपालिकाले चार वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका ४ वटा विद्यालयलाई बस उपलब्ध गराउने भएको छ । 

नगरका भीम मावि, चण्डी भैरव मावि, चण्डीकादेवी मावि र कंकाली माविका लागि नगरले यस वर्ष विद्यालय बस उपलब्ध गराउने भएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहजताका लागि ती बस उपलब्ध गराइने बताइएको छ । 

बुधबार चन्द्रागिरि-२ वाडभञ्ज्याङ्गस्थित भीम माविमा सबलीकृत बालविकास कक्षा उद्घाटन कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले सो जानकारी गराउनुभएको नगरप्रमुखको सचिवालयको विज्ञप्तीमा उल्लेख छ । नगरका अन्य विद्यालयहरूमा समेत आवश्यकताका आधारमा बस उपलब्ध गराइने नगरप्रमुखको भनाई छ ।

चन्द्रागिरि नगरले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै २४ वटै सामुदायिक विद्यालयहरूमा सहजकर्ता सहितको बाल बिकास कक्षाको समेत व्यवस्थापन गर्ने भएको छ । भीम माविमा आयोजित सबलीकृत बालविकास कक्षा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख गिरीले बागमती प्रदेशमै पहिलोपटक चन्द्रागिरि नगरका सबै सामुदायिक विद्यालयका खेलकुद शिक्षकहरुलाई विशेष प्रशिक्षण उपलब्ध गराएको समेत जानकारी दिनुभयो । 
अर्को प्रसंगमा नगरप्रमुख गिरीले सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराइँदै आएको दिवा खाजाको बजेटमा आगामी आर्थिक वर्षबाट वृद्धि गर्ने बताउनुभयो । 
चन्द्रागिरि नगर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तत्पर रहेको बताउनुहुँदै नगर प्रमुख गिरीले नगरका सबै विद्यालयको भवनहरू स्तरिकरण भइसकेकोले अब शैक्षिक गुणस्तर वृद्धि गर्न बालविकास कक्षा, सबै कक्षामा स्मार्ट बोर्डसहित अध्ययन अध्यापन सामाग्री व्यवस्थापनका लागि नगरले तालुकदार निकायसँग सहकार्य समेत गरिरहेको बताउनुभयो । 
दक्षिण कोरिया सरकारको सहयोगमा बलम्बुस्थित बलम्बु मा.वि मा प्राविधिक शिक्षालयको भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी दिनुहुँदै नगर प्रमुख गिरीले नगरका अन्य विद्यालयहरूमा समेत प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया सरकारसँग अनुरोध गरिने उहाँको भनाइ थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *