भटाभट बालश्रम मुक्त क्षेत्र घोषणा हुँदै चन्द्रागिरिका वडाहरू, कार्यान्वयन कति सहज ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थान बालश्रम मुक्त वडा घोषणा गरिएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि वडा नम्बर सातलाई बालश्रम मुक्त वडा घोषणा गर्नुभएको हो ।

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्ब गर्दै तयार भएको चन्द्रागिरि नगरपालिकाको बालश्रम निवारण सम्बन्धी कार्ययोजना, २०७६ अनुरुप चन्द्रागिरि नगरपालिका वडा नं. ७ लाई बालश्रम मुक्त घोषणा गरिएको नगरप्रमुख गिरीको भनाइ थियो ।

स्थानीय प्रभाव माध्यमिक विद्यालयमा आयोजित बालश्रम मुक्त वडा घोषणा कार्यक्रम उपस्थित भएका सबैले  यसको निरन्तरता र दीगोपनाका लागि नीतिगत कार्यान्वयन गर्न आआफ्नो क्षेत्रबाट पूर्ण रुपले सहयोग र सहकार्य गर्ने सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष शम्भुकुमार केसीले वडामा कुनैपनि बालश्रम गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै कहिकतै सो प्रकारका कार्य भएको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही प्रकृया अघि बढाइने जानकारी दिनुभयो । 

कार्यक्रममा नगरका विभिन्न वडाका वडाध्यक्षहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रतिनिधि, स्थानीय विद्यालयका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, महिला समुहहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

चनपा ७ बालश्रम मुक्त वडा घोषणा गर्नुअघि उक्त वडाको मुख्य बजार चेकपोष्टमा विभिन्न भेषाभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो।

यसअघि चन्द्रागिरका अन्य पाँच वडाहरू वडा नं. ५, ६, ८, १४ र ३ बालश्रम मुक्त घोषणा भइसकेका छन् ।

चन्द्रागिरि नगरका वडाहरू बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *