दृष्टिविहीन भएकै कारण थानकोटस्थित एक बैंकले मोबाइल बैंकिङबाट वञ्चित गरेको आरोप

Thankot Times

थानकोट। 

दृष्टिविहीन भएकै कारण थानकोटमा शाखा रहेको एक बैंकले एक सेवाग्राहीलाई मोबाइल बैंकिक सेवाबाट वञ्चित गरेको पाइएको छ ।

 प्राइम कमर्सियल बैंकको थानकोट शाखामा खाता खोल्न गएकी सचिता पाण्डेलाई बैंकले दृष्टि विहीन भएकै कारण मोबाइल बैंकिकको सेवाबाट वञ्चित गरेको हो ।

गत वर्ष २०८० मा मात्रै शिक्षक सेवा आयोगमा नाम निकालेर सिन्धुलीको फिक्कल गाउँपालिका स्थित कालिका प्राथमिक विद्यालयमा कार्यरत पाण्डे यही १० वैशाखमा प्राइम कमर्सियल बैंकको थानकोट शाखामा खाता खोल्न गएकी थिइन् । उनको खाता पनि खोलियो । तर बैंकले उनलाई मोबाइल बैंकिक सेवा दिन अस्वीकार गर्‍यो । कारण, उनी दृष्टिविहीन थिइन् ।

पाण्डेले आफू सक्षम हुँदाहुँदै पनि सेवा लिनबाट बैंकले रोकेको बताएकी छन् । शारीरिक असक्षमतालाई आधार मानेर बैंकले आफूमाथि भेदभाव गरेको उनको आरोप छ ।

यता बैंकको थानकोट शाखाका शाखा अधिकृत सुवास श्रेष्ठले पहिलो पटक यस्तो केस देखा परेकाले केही अलमल भएको बताए । उनले अहिले यो केस माथिल्लो तहमा पठाइसकेको र त्यहाँबाट केही समाधान आउने पनि जनाए । 

त्यस्तै बैंकको केन्द्रीय कानून विभागका प्रमुख राजकुमार कार्की पनि त्यही कारण सुनाउँछन् । “उहाँले सबै एपहरू चलाउन सक्छु भनेर भन्नु भएको रहेछ । तर हाम्रो बैंकमा यस्तो केस आएको पहिलो पटक हो,” उनले भने, “उहाँहरूलाई मोबाइल बैंकिङको सेवा दिँदा आर्थिक क्षतिको कुरा पनि आउँला । त्यही भएर हामीले राष्ट्र बैंकलाई सोधेर कदम चाल्ने निर्णय गरेका छौं ।”

बैंकबाट यस्तो सास्ती पाण्डे एक्लैले मात्र नभई उनका श्रीमान सरोज भट्टराईले समेत खेपेका थिए । उनीहरू दुवै दम्पती हुन् र दुवै शिक्षित पनि छन् । तर सँगसँगै दुवै दृष्टिविहीन पनि । सोही कारण बैंकले उनीहरूलाई मोबाइल बैंकिक सेवा दिन आनाकानी गरेको हो । 

भट्टराई आफूले भने अन्य बैंकबाट मोबाइल बैंकिङको सेवा लिएका छन् । उनीहरूले दुवैले शेयर बजारमा कारोबार समेत गर्दै आएका छन् । तर प्राइम बैंकको यस्तो भेदभावपूर्ण व्यवहारले आफूहरू दु:खी भएको उनीहरूको भनाइ छ, टेकपानाले खबर प्रकाशित गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *