चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीपः वर्षाका कारण आजका खेल ढिला सुरु हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा पहिलो पटक आयोजना भइरहेको क्रिकेट प्रतियोगिता चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीपमा आज सेमीफाइनल खेल्ने थप टोलीको टुंगो लाग्ने तालिका रहेको छ ।
असोज ९ गतेबाट जारी प्रतियोगितामा आज शुक्रबार लिग चरणका तीनसहित चार खेल हुनेछन् ।
यसअघि बिहीबार सम्पन्न खेलमा जित हात पार्दै दहचोक-१ र मैत्री नगरले सेमीफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
दहचोक-१ पुल बी मा अपराजित रहँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
मैत्री नगर पुल सी मा अपराजित रहँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार पुल ए र पुल डी बाट सेमीफाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।
आज पुल ए मा रहेका स्टम्प जम्पर्स । थानकोट वारियर्स बीच खेल सम्पन्न भएपछि यो समुहबाट सेमीफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
यस्तै पुल बीमा रहेका रोयल रेन्जर्स र काठमाडाैं वारियर्स आज प्रतिस्पर्धा गर्नेछन् ।
यो खेलले सेमीफाइनल समीकरणमा कुनै असर पार्ने छैन् ।
आज नै पुल डी बाट सेमीफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । उडान शैक्षिक केन्द्र र पुष्पलाल क्रिकेट क्लबबीचको विजेताले सेमीफाइनलमा स्थान बनाउनेछ ।
आज नै पहिलो सेमीफाइनलमा पुल ए को विजेता र पुल डी को विजेताबीच प्रतिस्पर्धा हुने तालिका रहेको चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ ।

गत बुधबारबाट सुरु भएको चार दिने प्रतियोगितामा सुदुरपश्चिम क्रिकेट टिम, हाम्रो क्रिकेट टिम, काठमाडाैं वारियर्स, दहचोक क्रिकेट टिम, नैकाप किङ्गस्, स्टम्प जम्पर्स, रोयल रेन्जर्स, थानकोट वारियर्स, मैत्रीनगर क्रकेट क्लब, पुष्पलाल स्पोर्ट्स क्लब, थानकोट क्लब र उडान शैक्षिक केन्द्रबीच प्रतिस्पर्धा भइरहेको छ ।
लिगकम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताको हरेक समुहमा रहेका ४ समुह मध्ये शीर्षस्थानमा रहने टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् ।
फाइनल खेलको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
फाइनल खेल असोज १२ गते खेलाइने तालिका छ ।
यसैगरी हरेक खेलका म्यान अफ दि म्याचले ट्रफी पाउनेछन भने प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलरले ट्रफी पाउँदा फेयर प्ले र इमर्जिङ प्लेयरले समेत ट्रफी पाउनेछन् । प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको फाइनल खेल भने २० ओभरको खेलाइने छ ।
यसैबीच निरन्तरको वर्षाका कारण शुक्रबारका लागि तय भएका खेलहरू रोकिएका छन् ।
आयोजक संस्था चन्द्रागिरि क्रिकेट एशोसियसनले वर्षा रोकिएपछि खेल समय निर्धारण हुने जनाएको छ ।
प्रतियोगिता चन्द्रागिरि नगरपालिका-०६ गुमालचोकीस्थित मदन भण्डारी खेलमैदनमा सञ्चालन भइरहेको छ ।














