निरन्तर घनघोर वर्षाले चन्द्रागिरिका तटीय वस्ती अस्तव्यस्त, नागढुङ्गामा पहिरो, राजमार्ग अवरुद्ध
थानकोट ।
करिब ३० घण्टादेखि निरन्तर परिरहेको पानीका कारण चन्द्रागिरि लगायत काठमाडाैं उपत्यका र पूर्वी नेपालका अधिकांश क्षेत्रको अवस्था अस्तव्यस्त छ ।
निरन्तरको वर्षाका कारण चन्द्रागिरि नगर क्षेत्रका तटीय बस्ती हिजो शुक्रबार दिउँसोबाटै डुबानमा परेका छन् । खोला खोल्सीहरूमा पानी सतह अप्रत्यासित रुपमा बढ्दा जनजिवन अस्तव्यस्त बनेको छ । मूल तथा सहायक सडकहरूमा समेत पानी जमेका कारण सवारी साधन सञ्चालनमा असहजता देखिएको छ ।
स्थानीय प्रहरी यूनिटहरूले वर्षापछि निम्तिएका समस्याहरूको पहिचान तथा विवरण संकलनको कार्य जारी रहेको बताएका छन् ।
नागढुङ्गा नजिकै पातलेवन क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयाैं सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बिहानीपख सूचना जारी गर्दै ती नदी तथा खोलामा जलस्तर खतराको तह पार गरिसकेको जनाएको हो।
हनुमन्ते, खोड्कु खोलाले सतर्कता तह पार गरेका छन्। धोवीखोला, विष्णुमती र बल्खु खोला सतर्कता तह आसपास, पानी बगिरहेको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा डुवान तथा बाढीको उच्च जोखिम रहेको भन्दै शनिबार दिउँसोसम्म नै उच्चसतर्कता अपनाउन अपिल गरेको छ।










