विपदमा परेका नागरिकलाई सम्बन्धित वडाबाट राहतका कार्यहरु सुरु भइसकेको छ- मेयर्स फोरम

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका मेयर्स फोरम उपत्यकाका सबै नगरपालिकाहरुमा २०८१ असोज ११ र १२ गते अविरल वां पश्चात भएको जनधनको क्षति तथा बाढी पहिरोबाट भएको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ।

साथै, शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।यस आपतकालिन विपद व्यवस्थापनमा अथक मेहनत, प्रयास तथा सक्रियता पूर्वक विपद उद्धार तथा राहतमा सहयोग पुर्याउनु हुने सबै वडाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, राजनीतिक दल, विपद ब्यूरो, समाजसेवी, पूर्व सुरक्षाकमी, पत्रकार,नगरबासीहरु लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।

विपदको बेलामा उहाँहरुले देखाउनु भएको बहादुरी स्तुत्य छ। मानवताको उत्कृष्ट र अतुलनीय नमूनालाई हामी शब्दमा व्यक्त र व्याख्या गर्न किमार्थ सक्दैनौ। काठमाडौं उपत्यका मेयर्स फोरम, काठमाडौं उपत्यका भित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख रहेको संस्था हो। स्थानीय सरकार नागरिकको नजिकको सरकार हो । स्थानीय सरकारको आफ्ना नागरिकको दुख र सुखको साथी र साक्षी समेत हो। यस्तो दुखद क्षणमा फोरम आफ्ना नागरिकसँगै रहने प्रतिबद्धता समेत व्यक्त गर्दछ। विपदमा परेका नागरिकलाई सम्बन्धित वडाबाट राहतका कार्यहरु सुरु भइसकेको छ।

यसले अप्ठ्‌यारो परिस्थितिलाई केही सहज बनाउन सहयोग पुगेको छ भन्ने हाम्रो ठम्याई रहेको छ।

कुनै अप्ठ्‌यारो र समस्या आइपरे आफ्ना जनप्रतिनिधिलाई सम्पर्क गर्न समेत फोरमको आग्रह छ।

मौसम अनुकुल नभएकोले जोखिमको आकलन गरी चनाखो हुन अनुरोध गर्दै अत्यावश्यक यात्रा मात्रै तय गर्नु हुन अनुरोध गर्दछौं । साथै, विपद पछि पर्न सक्ने विभिन्न प्रकारका जोखिम, संकट र समस्याको समाधानका लागि समेत सचेत, सतर्क, एकताबद्ध, संयमित र सकारात्मक हुन समेत हार्दिक अपिल गर्दछौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *