जनप्रतिनिधि रिक्त रहेका क्षेत्रमा उपचुनावका लागि तयारी

Thankot Times

थानकोट।

सरकारले जनप्रतिनिधि रिक्त रहेका क्षेत्रमा उपचुनावका लागि आवश्यक तयारी थालेको छ ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र पालिकामा रिक्त विभिन्न पदको चुनावका लागि मिति तोक्ने गरी निर्वाचन आयोगसँग परामर्श लिने काम भइरहेको छ ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तको टोलीले भेट गरेको छ ।

प्रतिनिधि सभा रुपन्देही क्षेत्र नम्बर–३, गण्डकी प्रदेश सभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कार्त्तिक दोस्रो हप्ता चुनाव गर्ने गरी मिति तोक्ने तयारी छ । रुपन्देही–३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य दीपक मनाङे पदमुक्त भएका छन् ।

असार १६ गतेभित्र मिति तोक्ने आयोगले तयारी गरेको छ ।

त्यस्तै, पालिकामा १३ वटा वडाध्यक्षको पद रिक्त छ । त्यस्तै, आउँदो फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि चुनाव हुनेछ । एक जनालाई राष्ट्रपतिले मनोनीत गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले उपचुनावका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि सरकारको तर्फबाट सहयोग हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *