नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकको आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो।

एमाले बैठक सोमबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा  सुरु भएको हो। पहिलो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गण्डकी, मधेस, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा प्रस्तुत गरेका छन्।

बैठकमा अधिकांश सदस्यले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावको समर्थन गरेका थिए।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण विषयसमेत प्रवेश गरेको गौतमले जानकारी दिए। सदस्यहरूलाई धारणा राख्न तीन मिनेटको समय दिइएको थियो।

त्यसैगरी, बैठकको बहस नोट तयार गर्न पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ।

पार्टीको दोस्रो विधान महाधिवेशनको तयारीस्वरूप बैठक बसेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *