स्वास्थ्यको कारण देखाउँदै भारतका उपराष्ट्रपति जगदीप धनखडले राजीनामा दिए

Thankot Times

थानकोट ।

कार्यकाल सकिन २ वर्ष बाँकी रहँदै भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उपराष्ट्रपति धनखडले सोमबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा दिएका हुन् ।

सञ्चारमाध्यमका अनुसार ७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो। उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्।

‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’ राजीनामा पत्रमा उनले लेखेका छन्, ‘संसद्‌का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ। यस महत्वपूर्ण अवधिमा भारतको उल्लेखनीय आर्थिक प्रगति र अभूतपूर्व घातीय विकासको साक्षी हुनु र यसमा भाग लिनु मेरो लागि सौभाग्य र सन्तुष्टि हो। हाम्रो राष्ट्रको इतिहासको यस परिवर्तनकारी युगमा सेवा गर्नु साँचो सम्मान हो। यो सम्मानित पद छोड्दै गर्दा, म भारतको विश्वव्यापी उदय र असाधारण उपलब्धिहरूमा गर्वले भरिएको छु र यसको उज्ज्वल भविष्यमा अटल विश्वास राख्छु।’ उनले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सहयोग र सौहार्दपूर्ण सम्बन्धको लागि धन्यवाद भनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *