बागमती प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुको शपथग्रहण आज हुने
थानकोट।
बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज बिहीबार हुँदैछ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।
बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह दिउँसो १ बजेका लागि तय भएको छ ।
बुधबार नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम भएका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज हुन लागेको हो ।
संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए ।
बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।
तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।
लामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् ।
१६८ (१) अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ (२) मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ ।
संविधानमा भएको यो व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने तर्क लामाको छ ।
लामा र बानियाँबीच शक्ति संघर्ष चलिरहेका बेला मुख्यमन्त्री लामाले बानियाँ पक्षका चार जना मन्त्रीहरुलाई पदमुक्त गरेका थिए भने मंगलबार एक मन्त्रीले राजीनामा दिएका थिए ।
बागमतीका पाँच मन्त्रालय मन्त्रीविहीन बनेपछि लामाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरु गोविन्द लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतकको जिम्मेवारीमा थिए ।
लम्साल धादिङका तथा गुरुङ र श्रेष्ठ चितवनका हुन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री लामाकै काँधमा रहेको छ ।












