सुदुरपश्चिमका मुख्यमन्त्री शाहलाई तेस्रो पटक विश्वासको मत
थानकोट।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् ।
उनले सभामा पेब गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।
नेपाली कांग्रेसबाट १८, नेकपा (एमाले) का ११ जना र प्रतिपक्षी दल नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा २७ जनाले समर्थन जनाएमा बहुमत पुग्ने गर्दछ ।
केही दिनअघि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका रामेश्वर चौधरीलाई मन्त्री पदबाट बर्खास्त गरेपछि सो पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले एकै कार्यकालमा दोस्रोचोटी गरी प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिएका हुन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री शाहले यसअघि, २०८१ साउन ३० गते दोस्रो पटक सभाबाट विश्वासको मत प्राप्त गरेका थिए ।
त्यसबेला नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिका गरी ३६ जनाले उहाँलाई विश्वासको मत दिएका थिए ।
यसैगरी, २०७९ फागुन २१ गते शाहले प्रदेश सभाबाट पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए । सो क्रममा उनको पक्षमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र गरी ४१ जनाको मत परेको थियो ।












