बोतल तथा जारको पानीको मूल्य बढाइने
थानकोट ।
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ ।
आवश्यक कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्य बढेको भन्दै महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो ।
महासंघले आफ्ना सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चापदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री गर्न आग्रह गरेको छ ।
उद्योग सञ्चालन, रोजगारी संरक्षण, उपभोक्तामा नियमित आपूर्ति, गुणस्तर कायम तथा उद्योगको दिगोपन सुनिश्चित गर्न हाल बढेको लागतको अनुपातमा मूल्यवृद्धि गरी बिक्री गर्नु अहिलेको आवश्यकता बनेको महासंघले स्पष्ट पारेको छ ।
“पछिल्लो समय पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ रोल, जार, जार क्यापलगायत कच्चापदार्थहरूको मूल्यमा करिब ४० प्रतिशत भन्दा बढीसम्म वृद्धि भएको छ,” महासंघले भनेको छ, “डिजेल तथा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी लागतमा उल्लेखनीय वृद्धि भएको छ ।”
अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएको कारण उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको महासंघले प्रस्ट पारेको छ ।
नेपालको प्रशोधित पिउने पानी उद्योग हाल ६२० भन्दा बढी उद्योगमार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान हुँदै आएको छ । १६ अर्बभन्दा बढी लगानी भएको महासंघले जनाएको छ ।













