सार्वजनिक निकायका प्रमुख, सूचना अधिकारी र प्रवक्ताले कार्यालय समयमा अनिवार्य फोन उठाउनैपर्ने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सबै सार्वजनिक निकायलाई आफ्ना कर्मचारीको विवरण अद्यावधिक गर्न र नागरिकका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ ।

सरकारी कार्यालयका टेलिफोन नउठ्ने र वेबसाइटमा राखिएका सूचना पुरानो भएको व्यापक गुनासो आएपछि कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै विवरण अद्यावधिक गर्न भनेको छ ।

परिपत्रमा सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण नियमित रूपमा अद्यावधिक नभएको पाइएको उल्लेख छ ।

सार्वजनिक निकायको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नहुने, कार्यालयको टेलिफोन तथा मोबाइल नउठ्ने लगायतका विषयमा गुनासो प्राप्त भएको भन्दै कार्यालयले त्यहाँ कार्यरत कर्मचारीहरूको नाम, मोबाइल नम्बर र ईमेल कार्यालयको वेबसाइटमा तत्काल अद्यावधिक गर्न/गराउन अनुरोध गरेको छ ।

यसअनुसार अब सबै सरकारी निकायका कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयभित्र नागरिक तथा सेवाग्राहीको फोन अनिवार्य रूपमा उठाउनुपर्नेछ ।

साथै, सेवाग्राहीले माग गरेको सूचना उपलब्ध गराउन र प्राप्त गुनासोको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

अहिले धेरै सरकारी निकायका वेबसाइटमा पुराना कर्मचारीको विवरण हुने र सम्पर्कका लागि दिइएका नम्बरहरूमा फोन नलाग्ने समस्याका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *