आज २०‍औँ लोकतन्त्र दिवस मनाइँदै

Thankot Times

थानकोट ।

आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।

२०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गर्नुभयो ।

२०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा चुनाव भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभा चुनावबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।

अहिले तीन तहका सरकार क्रियाशील छन् । सङ्घीय, प्रादेशिक र पालिका सरकारले शासन सञ्चालन गरेका छन् । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवा सुविधा नागरिकको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीयताको अभ्याससँगै संघ, प्रदेश र पालिकाबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

लोकतन्त्रपछिको दुई दशकमा राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको छ । यो परिवर्तनको मुख्य जग वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *