ठगीको अभियोगमा किसिपिडीका एक युवा पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूले विभिन्न देश पठाइदिन्छु भन्दै १४ जना पीडितबाट कुल ५३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सन्दीप थापा मगर, विजयकुमार यादव, प्रवेश गुरुङ, नीरबहादुर कार्की तथा चिरन्जिवी अधिकारी रहेका छन्।

उनीहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै सर्वसाधारणसँग ५० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

निर बहादुर कार्कीले क्रोएसिया पठाइदिने भन्दै ८ जना पीडितबाट २ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ। विजयकुमार यादवले कतार पठाइदिने भन्दै २ लाख २० हजार रुपैयाँ, चिरन्जिवी अधिकारीले क्यानडा पठाइदिने भन्दै ३ जना पीडितबाट ३० लाख रुपैयाँ र प्रवेश गुरुङले मकाउ पठाइदिने भन्दै ५ लाख ५० हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

रकम लिएपछि सम्पर्कविहीन भएको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।  सन्दीप र विजयलाई काठमाडौँ महानगरपालिका–१२ बाट, निर बहादुरलाई काठमाडौँ–१३ बाट, चिरन्जिवीलाई काठमाडौँ–११ बाट तथा प्रवेशलाई काठमाडौँ–१२ बाट मंगलबार पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये एक जना चन्द्रागिरि नगरपालिका-०५ किसिपिडीका भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *