सेतो पुतलीदेखि सावधान रहन आग्रह
थानकोट ।
शापू रोगबाट सजग रहन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ । शापू एक दृष्टिनाशक रोग भएकाले यसबाट सजग रहन केन्द्रले आग्रह गरेको छ ।
यो रोग प्रायः वर्षायामपछि भदौदेखि मंसिरसम्म विशेष गरी नेपालको मध्यपहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ ।
यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्ने केन्द्रको भनाइ छ । यो सबै उमेरमा देखिने भए पनि विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ ।
शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ)लाई शापूको कारक मानिएको छ । तर, कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।
शापू रोगका लक्षणहरू के–के हुन् ?
– एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखा दुख्नु
– उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
– आँखाको दृष्टिमा तत्कालै कमी हुनु
शापूको रोकथामा कसरी गर्ने ?
– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो सेतो बत्ती नबाल्ने
– साँझ र राति झ्याल ढोका बन्द गर्ने
– सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने
समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर, ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने ।
यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान केन्द्रको सुझाव छ । आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सुझाव छ ।










