संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन् ।
मंगलबार (जेठ ५) प्रतिनिधि सभा बैठकमा उनले कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोवर, भीमफेदीलगायत पालिकाका कतिपय सडकमा एम्बुलेन्स समेत जान नसक्ने अवस्था रहेको बताए ।
“अब चार महिना त्यहाँका नागरिक आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । एकातिर थाहामा उत्पादन भएको आलुको भाउ १० रुपैयाँ पुगेको छ,” उनले भने, “सडकका कारण उत्पादनको त्यहीँ उपभोग गर्नुपर्ने अवस्था छ ।”
उनले सडककै कारण एक टेलिसिरियलको जस्तो ‘आलुकै भात, आलुकै तरकारी खानुपर्ने’ अवस्था बनेको भन्दै कटाक्ष गरे ।
“यस्तो तरिकाले त हरिबहादुरले भनेजस्तो आलुकै भात, आलुकै अचार, आलुको तरकारी खानुपर्ने अवस्था थाहाको छ,” उनले भने, “अविलम्ब सडकको ठेकेदारलाई बोलाएर त्यसका बारेमा भौतिक प्रगति लिन हार्दिक अनुरोध गर्दछु ।”










