आज सगरमाथा दिवस मनाइँदै
थानकोट ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदै छ ।
सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकाे दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् । सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ ।
यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।
जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार मानिन्छ । प्रत्येक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन् ।
सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
यस अवसरमा नेपाल पर्वतारोहण संघले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक भएको जनाएको छ ।












