रास्वपाको बागमती प्रदेश अधिवेशन हेटौंडामा सुरु, भोलि नयाँ नेतृत्व चयन हुने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबारमा मंगलबार आयोजना गरेको अधिवेशनको महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका छन् ।

यसअघि सभापति रवि लामिछानेले अधिवेशनको उद्घाटन गर्ने भनिएको थियो । लामिछाने नआउने भएपछि महामन्त्री बुर्लाकोटीले उद्घाटन गरेका हुन् ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले प्रदेश संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब १ हजार ५ सय प्रतिनिधिको सहभागिता रहेको रास्वपाले जनाएको छ ।

रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै स्थानीय तहमा पार्टीको संगठन विस्तार भइसकेको छ ।

रास्वपाको विधान अनुसार बागमतीमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ । समितिमा सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन् ।

सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान छ । त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ ।

निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ ।

पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरुको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरुमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।

रास्वपाले बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको छ ।
जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिले प्रदेश नेतृत्व चयनमा मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ