फिफा विश्वकप फुटबल २०२६: जर्मनीको अपेक्षित जित, जापान र हल्याण्ड बराबरीमा
थानकोट ।
नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ।
डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।
५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए।
६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए। तर, खेल सकिनै लाग्दा ८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।
कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेका थिए ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरुआत गरेको छ ।
ह्युस्टनमा सम्पन्न समूह ‘ई’ को खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्यो । खेलको छैटौँ मिनेटमै फेलिक्स निमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए । तर २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो । निको स्लोटरबेक, काइ हाभट्र्ज, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभले गोल गरे । हाभट्र्जले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए । जोशुआ किमिखले दुई गोलका अवसर सिर्जना गर्दै उत्कृष्ट प्रदर्शन गरे । यो जितसँगै जर्मनीले समूह ‘ई’ मा बलियो सुरुआत गरेको छ भने कुराकाओले पहिलो खेलमै ठूलो हार व्यहोरेको छ ।
फिलाडेल्फियामा अहिले समूह ‘ई’ अन्तर्गत आइभरी कोस्ट र इक्वेडरबीचको खेल चलिरहेको छ । दुवै टोली विजयी शुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह ‘एफ’ का स्वीडेन र ट्युनिसिया खेल्दैछन् । मेक्सिकोको मोन्टेरेमा हुने यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ ।










