अनुमति बिना ठूलो पर्दामा विश्वकप नदेखाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नलिई भिडभाड जम्मा गरेर ठूलो पर्दामा विश्वकप फुटबलका खेल नहेर्न तथा प्रदर्शन नगर्न सर्वसाधारण र सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।
कार्यालयले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल प्रदर्शन गर्ने नाममा ठूलो संख्यामा मानिसहरू भेला हुँदा शान्ति सुरक्षा तथा सार्वजनिक व्यवस्थामा असर पर्न सक्ने जनाएको हो ।
सूचनामा सार्वजनिक स्थान, होटल, रेस्टुरेन्ट, क्लब तथा अन्य स्थलहरूमा आवश्यक अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न आग्रह गरिएको छ । प्रशासनले यस्ता गतिविधिबाट अप्रिय घटना हुन सक्ने तथा सुरक्षा व्यवस्थापनमा चुनौती थपिन सक्ने उल्लेख गरेको छ ।
‘फिफा विश्वकप फुटबलका खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रशारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले यस कार्यालयबाट पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ प्रशासनको सूचनामा भनिएको छ ।
सूचनाको अवज्ञा गरे प्रचलित कानुनबमोजिम कारबाही हुने भनेर प्रशासनले सचेत गराएको छ ।













