सार्वजनिक सेवा प्रसारण संस्थाको नयाँ अध्यक्षका लागि १० जना सर्टलिष्टमा, अन्तर्वार्ताको मिति घोषणा
थानकोट ।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि अल्पसूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताकाे मिति घाेषणा गरिएकाे छ ।
अध्यक्ष नियुक्ति तथा सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै साे जानकारी दिएकाे हाे ।
समितिले सूचना जारी गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन दिएका र दरखास्त स्वीकृत भएका उम्मेदवारमध्ये सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षको नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ को दफा १२(१) बमोजिम अल्पसूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समयतालिका सार्वजनिक गरेको हो ।
समितिले अल्पसूचीमा परेका १० जना उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार ४ र ५ गते सञ्चालन हुने जनाएको हो ।
समितिका अनुसार सम्बन्धित उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ भने त्यसलगत्तै अन्तर्वार्ता लिइनेछ । प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछ ।
उम्मेदवारहरूलाई आवेदनका साथ पेस गरिएका सम्पूर्ण कागजातहरूको सक्कल प्रति साथमा ल्याई निर्धारित समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ ।













