त्यो कलंकी, यो कलंकी
थानकोट ।
भाइ मुक्ति एन्ड रिभाइभलको एउटा गीत छ, ‘कलंकीको जाम’ । अर्थात्, चर्चामा छ कलंकी !
कलंकीमा हुने गरेको अत्यधिक जाम कम से कम एक घण्टा, होइन भने चारपाँच घण्टासम्म पनि । सडकमा गाडी र मोटरसाइकल पूरै टम्म !
एकार्कालाई उछिनेर, छेकेर दुई र चारपांग्रेहरू अगाडि आउँछन् । जथाभावी उछिन्न खोज्छन् । त्यसरी जथाभावी उछिनेकै कारण ती पछाडि पर्छन् ! किनभने, तिनलाई पनि उछिन्ने र बाटो छेक्ने गरी अर्को आइपुग्छ ।
उछिनपाछिनको प्रतिस्पर्धामा कलंकी त अस्तव्यस्त हुन्छ नै, त्यो जाम नैकापसम्मै पनि पुग्छ । जाम नैकाप पुग्नु भनेको सामान्य भइसकेको थियो ।
जाम हुनुका थुप्रै कारणहरू थिए र छन् पनि । तर, मुख्य कारण भनेको सडक नियमको अवहेलना नै हो । नेपाली समाजको एउटा विद्रुप तस्बिर हो, कलंकीको जाम ।
सर्टकट उपायको प्रयासमा खेर गएका लामा र बांगाटिंगा बाटा हुन्, कलंकी जामको कारण ।
जसलाई हामी कलंकी भन्छौँ, वास्तवमा त्यो कलंकी नै होइन । अपितु, कलंकी चोक बनाइदिए । धन्न कुनै सुविधानगर वा दुविधानगर नाम नराखीकन पुरानो नाम सारिदिए, कलंकी भनेर ।
सही कलंकी त कलंकी माईको मन्दिर भएको ठाउँलाई भनिन्छ । तर, कलंकी माई आफैँ पनि आश्चर्यचकित छिन् ! कलंकी भनिने ठाउँ एकातिर र नामकरण गरिएको ठाउँ अर्कोतिर ।
जहाँ चोक छ, त्यो पछि बनेको हो । चिनियाँ सरकारले रिङरोड बनाइदिइसकेपछि त्यहाँ एउटा चोक बन्यो । रिङरोड बनिसकेको धेरै वर्षसम्म त्यो चोक सुनसान नै थियो ।
रिङरोडका लागि जमिन कब्जा गरिसकेको तर पूर्ण प्रयोग नगरिएका कारण ठूला सवारीसाधनहरूको पार्किङ, दिसापिसाब गर्ने ठाउँ, विसर्जित माटोगिट्टी फाल्ने थलो थियो त्यो । कतैकतै त अझै पनि छ होला ।
रिङरोड बनेको निकै समयपछि कलंकी बिस्तारैबिस्तारै काठमाडौंको अति अप्रिय, कुरूप, अतिशय जाम हुने र ठगिने एउटा विम्ब नै बन्यो । त्यस्तो हुनुपछाडिको परिणाम हो, बसपार्क बालाजुमा बनाइनु ।
पञ्चायतकालमा त्यति ठूलो बसपार्क जापान सरकारको सहयोगले बन्ने भएपछि थानकोट मात्र उपत्यकाको नाका भएको अवस्थामा तीनथानादेखि वाणभन्ज्याङसम्ममा हुनुपर्थ्यो बसपार्क ।
सुनिन्छ, तत्कालीन यातायातमन्त्रीको स्वार्थका कारण बसपार्क बालाजुमा बन्ने भयो । बन्यो पनि ।
यद्यपि, त्यहाँ बस चढ्न सर्वसाधारण जान सक्दैनथे । किनभने, त्यो ठाउँ अति अपायक थियो ।
अनि, सबैका लागि कलंकी सहज हुन थाल्यो । मानिस कलंकीमा बस चढ्ने र ओर्लने गर्न थाले । अनि त जहिले पनि ठूला बसहरूको अघोषित बसपार्क भयो कलंकी । अहिले पनि भइरहेकै छ ।
कलंकी साँघुरो छ । साँघुरो चोक, साँघुरो पसल, साँघुरो अफिस अनि साँघुरो पेट्रोल पम्प । सबै साँघुुरा ! यात्रुलाइ सधैँ सास्ती ।
यसलाई हेर्ने हो भने बसपार्क बालाजुमा हुनु र नहुनुको केही अर्थ छैन । कलंकी आमयात्रुलाई सेवा दिँदादिँदै अकर्मण्य निर्णयका कारण सदा तनावमा छ । सदा बदनाम छ ।
हामी स्कुल पढ्दा कलंकीमा त्यो रिङगरोड आइपुगेको थिएन । कलंकी भनेको त कलंकी मन्दिर नै हो ।
त्यही मन्दिरसँगै एकजना आमाले केराउ, चना पसल राख्नुभएको थियो । १० पैसामा दुईजनाको पेट भरिने । सुनसान बाटो मुस्किलले दुईचारजना भेट हुन्थ्यो ।
त्यति बेला हामी साँघुरो बाटोमा चौडा छाती लिएर हिँड्थ्यौँ । कलंकी मन्दिर कट्नासाथ तीनथानातिरबाट चिसो हावा आउँथ्यो । हिँड्दै गर्दाको पसिना त्यही हावाले सुकाउँथ्यो ।
अलि तल खड्कुले पुल छ । त्यो पुरानो इँटा अनि बज्रले बनाइएको पुल र त्यसले छोडेको बाटो अन्तै थियो । अहिले सायद कसैको घरको आँगन भयो कि !
त्यहाँबाट ढुंगेअड्डाको उकालो सकिनासाथ त हावा होइन, थानकोटबाट सिधै सिरेटो आउँथ्यो । हुने भए जाकेट वा स्वेटर लगाउन पर्ने गरी ।
परपरसम्म त धानखेत नै थिए । बाटोमा कसैकसैले साना केराउको लामोलामो बोट नै बेचिरहका हुन्थे । पाँचदश पैसामा सानो केराउ छोडाउँदै खानु अर्को रमाइलो थियो ।
कलंकीभन्दा उत्तर, अहिलेको मालपोत छेउछाउ र भाटभटेनीको वारितिर अझै पनि लिकमार्ग भन्ने नामकरण गरिएको छ । त्यहाँ रेलको लिक थियो ।
कुनै समय गुर्जुधारादेखि टेकुसम्म रेल चल्थ्यो । मान्छे होइन, सामान ओसार्ने मालगाडी । हेटौँडादेखि गुर्जुधारासम्म रोपवेले सामान ल्याउँथ्यो, गुर्जुधारादेखि टेकुसम्म रेलले ओसार्थ्यो ।
ती सबै इतिहास पुरेर कलंकी अहिले प्रत्येक सरकारको गलत निर्णयका कारण बदनाम हुँदै धान्न नसकिने भारी बोकिरहेको छ !
अहिले त कलंकी सवारीमैत्री पनि हुन सकेन । मानवमैत्री पनि हुन सकेन ।
आशा गरौँ, कुनै दिन कलंकी कम से कम व्यवस्थित हुनेछ ।
स्नेह सायमी, बाह्रखरीबाट












