एसीसी महिला यू-१९ प्रिमियर कप: नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

Thankot Times

थानकोट ।

नेपालले समूह विजेताका रूपमा एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार मलेसियाको बायोमास ओभलमा भएको समूह ‘डी’अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि १८१ रनको एकर्फी जित दर्ता गर्‍यो ।

समूहका तीनै खेलमा जित निकालेको नेपालले ६ अंक जोडयो । नेपालले यसअघि कतार र सिंगापुरलाई हराएको थियो ।

लगातार दोस्रो पराजय व्यहोरेको हङकङको दुई अंक छ । हङकङले यसअघि सिंगापुरलाई हराएको थियो । हङकङ कतारसँग पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभर नै ब्याटिङ गरेर नौ विकेट गुमाउँदै ३० रन मात्र बनाउन सक्यो ।

हङकङका निम्ति वाङ हेइलीले १३ रन बनाइन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी कप्तान सोनी पाख्रिनले सर्वाधिक चार विकेट लिइन् ।

मनीषा उपाध्यायले दुई तथा क्रिस्मा गुरुङ र स्नेहा महरनले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो ।

कप्तान सोनीले सर्वाधिक ९० रनको योगदान गरिन् । उनले ६० बलमा १३ चौका र एक छक्का प्रहार गरिन् ।

सावित्री धामीले ५२ रन बनाइन् ।

उनले ३६ बलमा ६ चौका प्रहार गरिन् ।

अलिशनकुमारी यादव २३ रनमा अविजित रहिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *