विश्वकप फुटबलको फाइनल प्रसारण भइरहँदा किन नेपालमा झ्याप-झ्याप बत्ती गयो ?
थानकोट ।
फिफा विश्वकप २०२६ को फाइनल खेल सञ्चालन भइरहेका बेला सोमबार (साउन ४) बिहान नेपालमा विद्युत् आपूर्ति प्रभावित भयो ।
प्रतिकूल मौसमका कारण पथलैया–ढल्केबर १३२ केभी प्रसारणलाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा केही समय बिजुली आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, बिहान करिब १ः५४ बजे पथलैया–ढल्केबर १३२ केभी प्रसारणलाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा वर्षासँगै रुख ढल्दा प्रसारण प्रणालीमा आंशिक अवरोध (पार्सियल सिस्टम आउटेज) सिर्जना भएको थियो । त्यसबाट प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ भई विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विश्वकप फाइनलका बेला उपभोक्तालाई निर्बाध विद्युत् उपलब्ध गराउन सम्पूर्ण सबस्टेसन, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई उच्च सतर्कतामा राखेको थियो । तर, निरन्तर वर्षाका कारण उत्पन्न प्राकृतिक घटनाले प्रसारण प्रणालीमा अवरोध सिर्जना भएको प्राधिकरणको भनाइ छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोली तत्काल परिचालन भई वैकल्पिक व्यवस्थामार्फत विद्युत् प्रणाली पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
विश्वकप फुटबलको फाइनलका दौरान अचानक बिजुली जाँदा उपभोक्ताले प्राधिकरणविरुद्ध आक्रोश पोखेका थिए ।










