नागढुङ्गा सुरुङ आफूले सुरु गरेको दूरदर्शी राष्ट्रिय सङ्कल्प- पूर्वप्रधानमन्त्री खनाल

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।

चीनको बेइजिङमा रहेका खनालले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूले सुरु गरेको दूरदर्शी राष्ट्रिय सङ्कल्प यथार्थमा परिणत भएको बताएका हुन्।
काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले भोग्दै आएको सास्ती अनि ट्राफिक जामको पीडा आफूले नजिकबाट अनुभव गरेको उनले उल्लेख गरेका छन्।

वि.सं. २०६७ माघ २३ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन आफूले हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण रहेको उनले स्मरण गराएका छन्।

सो आयोजनालाई २०६७ माघ २७ को मन्त्रिपरिषद्ले स्वीकृत गरेको र वि.सं. २०६८ मा नीतिगत रूपमा अघि बढाउने निर्णय गरिएको उनले बताएका छन्। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिएका छन्। आज यो सुरुङमार्ग दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको प्रतीकका रूपमा स्थापित भएको धारणा उनले राखेका छन्।
राष्ट्र निर्माण निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्वको प्रतिफल भएको उनले बताएका छन्। आयोजना सम्पन्न गराउन योगदान पुर्‍याउने विभिन्न समयका सरकार, मजदुर, प्राविधिक, कर्मचारी र जापान सरकारप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।
यो सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गरेको खनालको विश्वास छ। यसले सुरक्षित, सहज र आधुनिक यातायात प्रणालीको विकासका साथै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र समग्र विकास यात्रालाई नयाँ गति दिने उनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ