चन्द्रागिरि नगर र ब्राइट फ्युचर माविको साझेदारीमा नैकापमा स्मार्ट पेलिकन ट्राफिक बत्ती जडान हुँदै

Thankot Times

थानकोट ।

कलंकी-नागढुङ्डा सडक खण्डको नैकापमा अत्याधुनिक प्रविधिको स्मार्ट पेलिकन ट्राफिक बत्ती जडान हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका र नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयबीच सो बत्ती जडानका लागि समझदारी भएको हो ।

मंगलबार (साउन ५ गते) चन्द्रागिरि नगरपालिका प्रमुख मेयर घनश्याम गिरी र ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्राइट फ्युचर माध्यमिक विद्यालयको पूर्ण आर्थिक लगानी उक्त बत्ती जडान हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
उक्त ट्राफिक बत्ती जडान सम्पन्न भएपछि यसको सञ्चालन तथा व्यवस्थापन रामशाहस्थित काठमाडाैं उपत्यका ट्राफिक महाशाखा कार्यालयमार्फत हुने बताइएको छ ।

यस पहलले चन्द्रागिरि नगरपालिकामा निजी क्षेत्रबाट सडक सुरक्षामा सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्ने संस्कृतिलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको नगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस खालका गतिविधिहले विद्यालयका विद्यार्थी, अभिभावक तथा सर्वसाधारण पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको सो विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाले यो पहल सरकारी-निजी साझेदारीमार्फत सुरक्षित, व्यवस्थित र दिगो शहरी पूर्वाधार विकासतर्फको एक अनुकरणीय तथा कोशेढुङ्गासरह भएको जनाएको छ ।

स्मार्ट पेलिकन ट्राफिक लाइट पैदलयात्रीलाई प्राथमिकता दिने आधुनिक ट्राफिक व्यवस्थापन प्रणाली हो।

सामान्य ट्राफिक बत्तीभन्दा फरक, यसमा पैदलयात्रीले बटन थिचेपछि वा आवश्यक स्थानमा जडान गरिएका सेन्सरले पैदलयात्रीको उपस्थितिको संकेत दिएपछि मात्रै सवारीसाधनका लागि रातो बत्ती बल्छ र निश्चित समयका लागि पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने व्यवस्था मिलाइन्छ। यसले अनावश्यक रूपमा लामो समय सवारी रोकिने अवस्थालाई पनि कम गर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने मानिन्छ।

विश्वका विकसित मुलुकहरूले पछिल्ला दशकदेखि विद्यालय, अस्पताल, सार्वजनिक कार्यालय र अत्यधिक पैदल आवागमन हुने क्षेत्रमा यस्ता प्रणालीलाई प्राथमिकता दिँदै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *