ग्यासको कृत्रिम अभाव हुन नदिन आग्रह, आवश्यकता अनुसार मात्र भण्डारण गर्न अनुरोध
थानकोट ।
नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।
संघले बजारमा देखिएको ग्यास अभाव आपूर्ति प्रणालीमा आएको कमीका कारण नभई उपभोक्ताले अतिरिक्त सिलिन्डर भण्डारण गर्न थालेपछि अस्थायी रूपमा समस्या देखिएको जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आयात हुने एलपी ग्यासको परिमाणमा कुनै कमी आएको छैन। उनका अनुसार विगतकै हाराहारीमा दैनिक करिब १०० बुलेट ग्यास आपूर्ति भइरहेको छ।
उनले नेपाल आयल निगममार्फत आउने ग्यासको परिमाण र उद्योगहरूले वितरण गर्दै आएको आपूर्ति प्रक्रियामा उल्लेखनीय परिवर्तन नभएको बताए। तर, उपभोक्ताले एकै पटक आवश्यकताभन्दा बढी सिलिन्डर भर्न थालेपछि बजारमा उपलब्धता प्रभावित भएको उनको भनाइ छ।
अध्यक्ष चन्दले उपभोक्ताले अतिरिक्त मौज्दात नराखी नियमित खपतअनुसार मात्र ग्यास खरिद गरेमा हाल देखिएको समस्या सहज रूपमा समाधान हुने बताए।
संघका सदस्य विमल कालाखेतीले पनि समयमै पूर्ण क्षमतामा भरिएका सिलिन्डर वितरण गर्न सुझाव दिइएको भए पनि त्यसको प्रभाव ढिलो देखिएको उल्लेख गरे। सामान्य अवस्थामा आवश्यक पर्ने परिमाणमै ग्यास उपलब्ध भइरहेकाले आपूर्तिमा दीर्घकालीन समस्या नरहेको उनको दाबी छ।
हाल नेपालमा करिब एक करोड ५० लाख थान एलपी ग्यास सिलिन्डर रहेको संघले जनाएको छ। त्यसमध्ये करिब ५० लाख सिलिन्डर ग्यास डिपोमा रहेको बताइएको छ।
सरकारले गत फागुन २८ गतेदेखि आधा परिमाणको सिलिन्डर ग्यास वितरण व्यवस्था सुरु गरेको थियो। हाल देशभर ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्।










