अण्डाकाे भाउ फेरि बढ्याे
थानकोट ।
कुखुराको अण्डाको भाउ फेरि बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आज बिहीबारदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो ।
चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँसम्म भाउ बढेको छ ।
नयाँ मूल्यअनुसार अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मध्यम अण्डा ५३५ रुपैयाँ पुगेको छ । यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरेको सङ्घले जनाएको छ ।
सङ्घले एक हप्ता नबित्दै अण्डाको भाउ फेरि बढाएको हो । यसअघि गएको साउन महिनामा अण्डाको मूल्य चार पटक बढेको थियो ।
अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ । बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्नुपरेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माग धान्न धौधौ परेपछि मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयाे ।











