‘भदौ २४ को आगजनी र विध्वंस सुनियोजित योजनाको परिणाम’ : एमाले

Thankot Times

थानकोट ।

 नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दाबी गरेको छ।

भदौ २४ का घटनाको एक वर्ष पूरा भएको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दाबी गरिएको छ।

एमालेले त्यसक्रममा १९ जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि ‘षड्यन्त्रकारी समूह’ले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए।

भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको एमालेको दाबी छ।

वक्तव्यमा भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनिएको छ।

एमालेले प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत भदौ २४ का घटनाहरू भएको भन्दै उक्त दिनको विध्वंस अघिल्लो दिनको घटनाबाट सिर्जित आक्रोश मात्र नभएको निष्कर्ष निकालेको छ। पार्टीले यसलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा धकेल्ने योजनाको मूर्त रूप भएको आरोप लगाएको छ।

एमालेले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरेको छ।

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्दै गिरफ्तार गर्ने तथा मुद्दा चलाउने प्रयास भएको दाबी गर्दै एमालेले त्यस दिनको वास्तविकता र सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन गुपचुप राखिएको आरोप लगाएको छ। भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने तथा उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान र अभियोजन रोकिएको भन्दै एमालेले त्यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत’ गरेको आरोप लगाएको छ।

त्यस्तै, राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने एमालेको भनाइ छ। एमालेले राजनीतिको अपराधीकरण, दण्डहीनता र राज्य दहनका घटनालाई कुनै पनि अवस्थामा स्वीकार गर्न नहुने बताएको छ।

‘हिंसालाई नाइँ भन्नैपर्छ, अराजकता अन्त्य गर भनेर बोल्नैपर्छ,’ वक्तव्यमा भनिएको छ। लोकतन्त्रमा समस्याको शान्तिपूर्ण समाधान खोजिनुपर्ने र सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नसक्ने एमालेको धारणा छ।

विज्ञप्तिमा एमालेले जेन जेड युवाहरूको सरोकार, अपेक्षा र मनसाय असल रहेको दाबी गर्दै जेन जेड विद्रोहका नाममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको संलग्नता नरहेको जिकिर गरेको छ। उक्त घटनाको लाभ भने अन्य तत्त्वले लिएको र तिनै ‘लाभग्राही’को भूमिकाका कारण युवाहरूमा निराशा बढेको एमालेको निष्कर्ष छ।

लोकतन्त्र, संविधान, राष्ट्रिय हित, स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई सक्रिय हुन अपिल गर्दै एमालेले सम्बद्ध सबै शक्तिसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ति :


Leave a Reply

Your email address will not be published. Required fields are marked *