नेपाली काँग्रेसद्वारा तल्लो तहका अधिवेशनको कार्यतालिका पुनः संशोधन

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचन क्षेत्रसम्मका अधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा पुनः संशोधन गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशनका मिति हेरफेर गर्दै नयाँ कार्यतालिका तय गरेको हो।

संशोधित तालिकाअनुसार गाउँ तथा नगर अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय भएको छ। ती दुईमध्ये स्थानीय परिस्थिति अनुकूल हुने कुनै एक दिन अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ।

नयाँ तालिकामा प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने उल्लेख छ। यसअघि वडा अधिवेशन भदौ २४ गते गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो।

यद्यपि, काँग्रेसको केन्द्रीय महाधिवेशनको मितिमा भने कुनै परिवर्तन गरिएको छैन। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि तय भएअनुसार असोज १६ देखि १९ गतेसम्म नै केन्द्रीय महाधिवेशन सञ्चालन हुनेछ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने सम्बन्धित निर्वाचन अधिकृतले स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिअन्तर्गत अधिवेशन हुन बाँकी रहेका देशहरूमा असोज १० गतेभित्र अधिवेशन सम्पन्न गर्न समितिले निर्देशन दिएको छ।

निर्वाचन समितिले जारी गरेको निर्णयसम्बन्धी विज्ञप्तिमा जिल्ला तथा प्रदेश तहका अधिवेशनको छुट्टै कार्यतालिका दोस्रो चरणमा सार्वजनिक गरिने उल्लेख छ।

महाधिवेशनको मूल मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनको समय व्यवस्थापनमा पुनः गरिएको संशोधनले काँग्रेसको महाधिवेशन तयारी प्रक्रियालाई थप समायोजनतर्फ अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ