काठमाडौं उपत्यकाबाट बढी मूल्यमा ग्यास बिक्री, ४६१ थान ग्यास सिलिन्डर बरामद

Thankot Times

थानकोट ।

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खाना पकाउने एलपी ग्यासका ४६१ थान सिलिन्डर बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट बढी मूल्यमा ग्यास बिक्री गरेको आरोपमा सिलिन्डर बरामद गरेको हो।

प्रहरीका अनुसार काठमाडौंको नरेफाँटबाट १८३ थान, बसुन्धराबाट १८९ थान, भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेँबाट १४ थान ग्यास सिलिन्डर बरामद गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार उपभोक्तालाई निर्धारित मूल्यभन्दा बढीमा ग्यास बिक्री भइरहेको सूचनाका आधारमा विभिन्न स्थानमा अनुगमन गरिएको थियो। त्यस क्रममा सिलिन्डरसहित ग्यास बिक्री भइरहेको अवस्थामा बरामद गरिएको हो।

प्रहरीले भक्तपुरको सूर्यविनायकमा सिलिन्डरसहित ५ हजार ४ सय रुपैयाँ, इटाछेँमा ५ हजार ४ सय रुपैयाँ, नरेफाँटमा २ हजार ५ सय रुपैयाँ र बसुन्धरामा २ हजार ६ सय रुपैयाँसम्ममा ग्यास बिक्री भइरहेको पाइएको जनाएको छ।

एसपी कार्कीका अनुसार बढी मूल्यमा ग्यास बिक्री गरी कालोबजारी गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। बरामद गरिएका सिलिन्डर प्रहरी नियन्त्रणमा राखिएको छ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ