नेकपाकी रमा आलेमगर बागमतीको कृषि मन्त्री नियुक्त

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रमा आलेमगर बागमती प्रदेशको कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त भएकी छिन्।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको सिफारिसमा शुक्रबार आलेमगरलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन्।

तीनदलीय सत्तागठबन्धनमा नेकपाले रिक्त सभामुख पद सहित दुई मन्त्रालय लिने सहमति अनुसार उनलाई आज कृषि मन्त्रीमा नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री रमा आलेमगरलाई आजै बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

चन्द्रागिरि नगरपालिका-०३ थानकोट निवासी आलेमगर काठमाडौं क्षेत्र नं. १० प्रदेश ख बाट निर्वाचित सांसद हुन् ।

यसअघि नेकपाबाट सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

नेकपा एमाले नेतृत्वको सरकारमा तीनदलको भागवण्डा अनुसार एमालेले मुख्यमन्त्री सहित ३ मन्त्रालय, राप्रपाले ३ मन्त्रालय र नेकपाले सभामुख सहित २ मन्त्रालय लिने सहमति भएको थियो।

जसमा एमालेबाट मुख्यमन्त्री थापा सहित दुई मन्त्री नियुक्त भैसकेका छन्। भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने ज्ञान बहादुर तामाङलाई भने विभागीय जिम्मेवारी तोकिएको छैन्।

८ मन्त्रालयमध्ये आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयमा उनलाई जिम्मेवारी तोक्ने तयारी रहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।

यस्तै, राप्रपाका गिर बहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राजु विष्ट खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्रमान प्रजापति उद्योग, पर्यटन, श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा छन्।

एमालेका ज्ञान बहादुर तामाङलाई विभागीय जिम्मेवारी तोकेपछि किरण थापा नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाउनेछ।

बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित ८ मन्त्रालय छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *