२०औँ एसियाली खेलकुद उद्घाटन आज, नेपालको झन्डा मानमती विष्ट र चन्द्र थापाले फहराउने

Thankot Times

थानकोट ।

एसियाका ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक, अधिकारी र खेलप्रेमीलाई गरी १७ हजारजनाको सहभागितामा २०औँ एसियाली खेलकुदको उद्घाटन आज जापानको आइची–नागोया सहरमा गरिँदै छ । जापानले तेस्रोपटक एसियाली खेलकुदको आयोजना गरेको हो ।

उद्घाटन समारोह नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हुनेछ । स्थानीय समयानुसार बेलुका ६ बजे उद्घाटन समारोह सुरु गरिनेछ । त्यसको मुख्य अवधारणा ‘हर्ट विट् आइची नागोया’ छ ।

आइची र नागोयाबाट सुरु हुने ‘हृदयको धड्कन’लाई एसियाभरका खेलाडी र मानिसको साझा भावना तथा उत्साहसँग जोड्दै ‘एक एसिया’को अनुभूति गराउने प्रयास समारोहमा गरिने आयोजकले जनाएको छ ।

समारोहको समग्र निर्देशन नागोयामै हुर्किएका जापानी फिल्म निर्देशक युकिहिको त्सुत्सुमीले गरेका छन् । आइची र नागोयाको स्थानीय पहिचानलाई एसियाली खेलकुदको अन्तर्राष्ट्रिय स्वरूपसँग जोड्दै कलात्मक तथा सांस्कृतिक प्रस्तुति तयार गरिएको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहअघि नै रंगशालामा विशेष वार्मअप आयोजना गरिनेछ । आयोजकले सार्वजनिक गरेको समयतालिकाअनुसार दर्शकको पहिचान जाँच स्थानीय समयानुसार दिउँसो १ बजेदेखि सुरु गरिनेछ । रंगशालाको प्रवेशद्वार दिउँसो १ः३० बजे खोलिनेछ । वार्मअप कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

समारोहमा सहभागी एसियाली राष्ट्रका प्रतिनिधिमण्डलको प्रवेशसँगै विभिन्न सांस्कृतिक तथा कलात्मक कार्यक्रम प्रस्तुत गरिनेछ । जापानको स्थानीय संस्कृति र परम्परासँगै आधुनिक प्रस्तुतिलाई समेत समेटेर एसियाली एकता, मित्रता र खेलकुदको भावनालाई अभिव्यक्त गर्ने तयारी छ ।

एसियाली खेलकुद उद्घाटन समारोहको प्रमुख आकर्षणमध्ये सहभागी राष्ट्रका खेलाडी तथा अधिकारीको मार्चपास रहनेछ । विभिन्न देशका राष्ट्रिय झन्डासहित खेलाडीहरू रंगशालामा प्रवेश गर्दा एसियाको विविधता र खेलकुदमार्फत निर्माण हुने सम्बन्धलाई प्रस्तुत गर्ने अवसर हुनेछ । नेपालको झन्डा मानमती विष्ट र चन्द्र थापाले फहराउने तालिका रहेको छ ।

आयोजकले यसपटक खेलाडीहरूलाई समारोहमा लामो समयसम्म पर्खाइमा राख्दा उनीहरूको प्रतिस्पर्धामा असर नपरोस् भन्ने पक्षलाई पनि ध्यान दिएको छ । खेलाडीको स्वास्थ्य र प्रतियोगिताको तयारीलाई प्राथमिकतामा राख्दै समारोहको सञ्चालन व्यवस्थित बनाइएको छ ।

उद्घाटन समारोहमा औपचारिक मन्तव्य, एसियाली खेलकुदको झन्डा तथा आयोजक राष्ट्र जापानसँग सम्बन्धित औपचारिक कार्यक्रम, खेलाडी र निर्णायकको शपथ र एसियाली खेलकुदको ज्योति प्रज्वलनलगायत परम्परागत कार्यक्रम रहनेछन् ।

नेपालको सहभागिता

प्रतियोगितामा नेपालले २१ खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालबाट सहभागी भएको महिला भलिबल टोली उद्घाटनअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । एसियाली खेलकुदमा नेपालबाट दुई सय ११ सहभागीमध्ये एक सय ३५ खेलाडी छन् । जसमध्ये ७८ पुरुष तथा ५८ महिला खेलाडी हुन् । टोलीमा २९ जना प्रशिक्षक, १७ व्यवस्थापक र खेल प्राविधिकका रूपमा दुईजना जापानमा पुगेका छन् । आर्चरीमा समान एक पुरुष र महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा समान दुई महिला र पुरुष, बक्सिङमा चार पुरुष र तीन महिला खेलाडीले भाग लिनेछन् । यसैगरी, क्यानोईमा दुई पुरुष, पुरुष क्रिकेटमा १५ जना, साइक्लिङमा समान एक पुरुष र महिला रहनेछन् । डान्स एन्ड स्पोर्टस्मा एक पुरुष खेलाडी सहभागी हुनेछन् । त्यस्तै, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा समान तीन महिला तथा पुरुष, कबड्डीमा समान १२ पुरुष–महिला रहने राखेपले जनाएको छ ।

कराँतेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा समान एक पुरुष तथा महिला र पौडीमा तीन पुरुष र दुई महिलाले भाग लिनेछन् । टेबुलटेनिसमा समान तीन महिला तथा पुरुष खेलाडी हुनेछन् । तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *