चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु
थानकोट ।
साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ ।
कार्यालयले नेपाल सरकारको निर्देशन अनुसार हाल कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा पीठो सरकारले तोके अनुसारको छुट मूल्यमा बिक्री गरेको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए ।
उनका अनुसार सर्वसाधारणलाई छुट मूल्यमा गरिने वितरण समान होस् भन्ने उद्देश्यका साथ प्रति व्यक्ति छ पोका नुन, छ किलोग्राम चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराउने गरिएको छ ।
बजारको प्रचलित बिक्री मूल्य अनुसार कार्यालयले चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, मैदामा प्रतिकिलो सात रुपैयाँ तथा तेलमा प्रति लिटर सात रुपैयाँ छुटसहित बिक्री गरिरहेको कार्यालय प्रमुख अधिकारीले बताए। सुपथ मूल्यमा बिक्री गर्ने क्रम आगामी तिहारसम्म जारी रहने कार्यालयले जनाएको छ ।














