मच्छेगाउँस्थित तापख्य नेवा पुचःले यसवर्ष चन्द्रागिरिमा भिन्तुना कार्यक्रम व्यवस्थापन गर्ने
थानकोट ।
मच्छेगाउँस्थित तापख्य नेवा पुचःले यसवर्ष चन्द्रागिरिमा भिन्तुना कार्यक्रम व्यवस्थापन गर्ने भएको छ ।
चन्द्रागिरि नगरका नेवा पुचः हरूले पालैपालो वर्षेनी नेपाल संवत् नयाँ वर्षारम्भका अवसरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम व्यवस्थापन गर्दै आएको सन्दर्भमा यस पटक चन्द्रागिरि वडा नं. ९ मच्छेगाउँस्थित तापख्य नेवा पुचःले यो जिम्मेवारी पाएको हो ।
मच्छेगाउँस्थित टाैखेल डबलीमा नेपाल संवत् ११४७ का अवसरमा सम्मान, सांस्कृतिक कार्यक्रम तथा भिन्तुना मोटरसाइकल र्याली आयोजना गरिने चन्द्रागिरि वडा नं. ९ का वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिए ।
वडाध्यक्ष अधिकारीका अनुसार कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सरिक हुनेछन् ।
नयाँ वर्षारम्भ कार्यक्रमका लागि हरिकृष्ण महर्जनको संयोजकत्वमा २७ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । अहिले तयारी जारी छ, हामी कार्यक्रम उल्लासमय ढंगले सञ्चालन गर्ने तयारीमा छाैं- संयोजक महर्जनले भने ।
यसवर्ष कार्तिक २४ गते मंगलबारदेखि नेपाल संवत् ११४७ वर्षारम्भ हुँदैछ ।














