यु-१९ महिला क्रिकेटमा नेपालको लगातार चौथो जित, चीन ५७ रनमै अलआउट

Thankot Times

थानकोट ।

चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ ।

शनिबार भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन् । कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन् ।

चीनका चुनजुङ वाङ र शुतिङ याङले दुई–दुई विकेट लिए ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमा समेटियो । चीनका युफेई सुनले २७ बलमा सर्वाधिक २८ रन बनाइन् ।

नेपालका रचना चौधरी र टीका शाहले तीन–तीन विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी टीका ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी छन् ।

नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आईसीसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप चीनमा शृङ्खला खेलिरहेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *