भोटेकोसी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

Thankot Times

थानकोट ।

सरकारले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ ।

पहिलो चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएकाे छ । त्यसपछि क्रमशः पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिँदै जाने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई निःशुल्क विद्यालय तहको शिक्षा उपलब्ध गराउने प्रक्रिया कार्यान्वयनमा लगिसकेको थियो ।

उनीहरूलाई उच्च शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था गर्ने सम्बन्धमा नयाँ निर्णय गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए । ‘पहिलो चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ । यसपछि पनि क्रमशः पहिचान गर्दै चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ उनले भने ।

प्रस्तावित व्यवस्थाअनुसार निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको हकमा शिक्षा विभागले अभिलेख राखेर सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गर्नेछ । त्यसैगरी, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिनेछ ।

त्यस्तै, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय र क्याम्पसहरूमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामै थप गरी समावेश गराउन मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ ।

यसका लागि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था गर्नेछ । यो निर्णयसँगै भोटेकोसी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले जुनसुकै विषयमा पनि उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *