दूधको मूल्य प्रतिलिटर ८० पुर्‍याउन किसानहरूको माग

Thankot Times

थानकोट ।

किसानहरूले दूधको मूल्य प्रति लिटर ८० पुर्‍याउन माग गरेका छन्।

मुख्य बालीको न्यूनतम समर्थन मूल्य नतोकिएको, तोकिएको मूल्य किसानले प्राप्त नगरेको र किसानले मल बिउ सहित सम्पूर्ण वस्तुको मूल्य वृद्धि हुँदा प्रभावित हुनुपरेको भन्दै राष्ट्रिय किसान सञ्जालले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । “दूध उत्पादनमा प्रयोग हुने दाना चोकर पराल समेतमा चर्को मूल्यवृद्धि हुँदा दुग्ध किसान मर्कामा परेको अवस्था छ,” काभ्रेपलाञ्चोकका दुग्ध किसान बिदुर कोइरालाले भने, “एकातिर सरकारले तोकेको बिक्री मूल्यले किसानको लगानी नै नउठ्ने अवस्था छ, अर्कातिर सरकारी र निजी डेरी उद्योगहरूले खरिद गरेको दूधको मूल्य समयमै भुक्तानी नपाउँदा हामी पेसाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ।”

सरकारका तर्फबाट दुईवटा काम तत्काल गरिदिनुपर्ने  उनले बताए। “पहिलो त सरकारी र निजी डेरी उद्योगबाट दुग्ध किसानले तत्काल बक्यौता रकम भुक्तानी पाउनुपर्‍यो, अबदेखि प्रत्येक हप्ता भुक्तानीका लागि नेपाल सरकारले नै अग्रसरता लिइदिनु पर्‍यो,” कोइरालाले भने ।

किसानले लागत मूल्य नै प्राप्त नगर्ने हुँदा प्रति लिटर १५ रूपैयाँ वृद्धि गरी प्रतिलिटर ८० रूपैयाँ किसानले पाउनेगरी तत्काल निर्णय गर्नुपर्ने माग किसानहरूको छ ।  यसअघि यो मूल्य सरकारले ४.८ फ्याट भएको दूधको मूल्य तोकेको उनले बताए। सरकारले किसानसँग प्रतिलिटर ७५ रूपैयाँ दिने मूल्य तोक्ने आश्वासन दिए पनि अहिलेसम्म केही नभएको उनीहरूको भनाइ छ ।

किसान सञ्जालले उखुको समर्थन मूल्य तोक्न ढिला गरेको भन्दै उखुको समर्थन मूल्य १०२५ रुपैयाँ पुर्‍याउन पनि माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *