प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन सम्पन्न, रसिला र नवीन च्याम्पियन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलद्धारा आयोजित प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी युवा राष्ट्रिय खेलाडी रसिला महर्जन र नवीन श्रेष्ठले जितेका छन् । सोमबार सम्पन्न फाइनलमा आर्मीकी रसिलाले महिला एकलतर्फ पूर्व नम्बर एक खेलाडी भोजपुरकी नङसलदेवी तामाङलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गरिन् ।

सोमबार नै सम्पन्न फाइनलमा आर्मी कै नवीनले पुलिस क्लबका विष्णु कटुवाललाई २१–९, २१–१६ ले हराएर उपाधि जिते । विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ एपीएफकी शोभा गौचन र आर्मीकी प्रार्थना देउवा संयुक्त रुपमा तेस्रो भए । पुरुषतर्फ पुलिसका सुनील जोशी र कालिकाका सुदीप सेढाईं तेस्रो स्थान रहे । तेस्रो हुनेले समान १० हजार पाए ।

महांकाल ब्याडमिन्टन कभर्डहलको आयोजित प्रतियोगिताको शीर्ष २० बाहेकको पुरुष एकलतर्फ महांकालका सुजन थापाले आर्मीका हिमाल चन्दलाई २१–१७, ११–२१, २१–१८ ले हराएर स्वर्ण जिते । उनले ३० हजार पाए । उपविजेताले १५ हजार पाए । आर्मीका कविर केसी र पुलिसका हीरा राई तेस्रो हुँदै १० हजार पुरस्कार पाए ।

सोही विधाको महिला एकलतर्फ सुर्खेतकी सिस्ना श्रीपालीले सुर्खेतकै अग्रिमा भण्डारीलाई १३–२१, २१–१६, २१–११ ले पराजित गर्दै उपाधि जितिन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार पाए । पुलिसका निकिता लामा र रिना तामाङले तेस्रो हुँदै १० हजार पाए ।

शीर्ष २० बाहेक पुरुष युगलतर्फ एपीएफका प्रनिशसिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले जित हासिल गर्‍यो । विजेताजोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१८, २६–२४ ले हरायो । विजेताले ३० हजार र उपविजताले १५ हजार पाए । युनिटी ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुले तेस्रो भए । उनीहरूले समान १० हजार प्राप्त गरे ।

स्थानीय पुरुष युगलतर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडीले प्रमोद महर्जन र सुमन महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै ३० हजार पुरस्कार जित्यो ।

४५ वर्षमाथि युगल जोडीमा कालिकाका रामशरण केसी र हरि कार्कीको जोडीले पीएफसीका सञ्जय कपाली र लाक्पा शेर्पाको जोडीलाई २१–१७, २४–२२ ले हराएर उपाधि जित्यो । विजेताले ३० हजार र उपविजेताले १५ हजार प्राप्त गरे । कीर्तिपुर ब्याडमिन्टनका काजी कार्की र राजु महर्जनको जोडी तथा हीरा रोक्का र हीका थापाको जोडी संयुक्त तेस्रो भए ।

विजेताहरूलाई काठमाण्डाै क्षेत्र नंं १० ख का निवर्तमान सांसद् रमा आलेमगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । भदाै ३१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा करिब २५० जना खेलाडीहरूले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ