प्रथम मातातीर्थ गोल्डकप, आजबाट दोश्रो चरणका खेल
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थ बालागाउँमा जारी प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत शनिबारबाट दोश्रो चरणका खेलहरू सञ्चालन हुनेछन् ।
२४ टोली सम्मिलित प्रतियोगिताको पहिलो चरणबाट छनोट भएका १२ टोलीले तेश्रो चरणका लागि स्थान बनाउन आजबाट प्रतिस्पर्धा गर्नेछन् । दोश्रो चरणको पहिलो खेल अन्तर्गत आज दिउँसो एक बजे किसिपिडी युवा क्लब र ग्रिन हिल्स युवा क्लब बीच खेल हुनेछ।
किसिपिडी युवा क्लबले पहिलो चरणमा ओशिस युवा क्लबमाथि ३-२ को साँघुरो जित हात पारेको थियो भने ल्याक्टो युवा क्लबविरूद्ध ग्रीन हिल्सले २-१ को नजिता निकाल्दै दोश्रो चरणका लागि सिट सुरक्षित गरेको थियो ।
त्यस्तै, शनिबार नै हुने दोश्रो खेलमा अपरान्ह ४ बजे तीनथाना युवा क्लब र कुर्दन क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा नव कंकाली युवा क्लब विरूद्ध ४-२ गोल अन्तरको जित निकाल्दै कुर्दनले दोश्रो चरणका लागि सिट सुरक्षित गरेको थियो । कुर्दनको जितमा अविरल रिजालले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए ।
तीनथाना युवा क्लबले अघिल्लो चरणमा चुनदेवी युवा क्लब विरूद्ध ५-०को स्पष्ट जित हात पारेको थियो ।












