यसपटक फुलपातीको आसपास नेपालबाट मनसुन सकिने, हिले दशैंको सम्भावना जीवितै
थानकोट ।
आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यद्यपी मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ।
यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।
मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।
अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ। यसैले मनसुन अझै केही दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मानन्धरले जानकारी दिइन्।
‘यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो। अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको १-२ दिन तलमाथि हुनसक्छ’, उनले सेतोपाटीसँग भनिन्, ‘मनसुन भइरहेपछि पानी परिरहन्छ भन्ने हुन्न। तर केही दिनका लागि आज भन्दा भोलि र भोलि भन्दा पर्सी सुधारात्मक छ।’
अघिल्लो वर्ष पनि दसैंकै आसपास अर्थात अक्टुबर ६ मा भारतमा सकिएको मनसुन केही दिनपछि नेपालमा सकिएको थियो। सोही अनुसार यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म मनसुन पुग्ने देखिएको हो।
‘मनसुन सधैं एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो। कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ। यसपालिको औसत अक्टुबर २ छ। पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ’, उनले भनिन्, सेतोपाटी अनलाइनमा खबर छ।
मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको मौसमविद् बताउँछन्।
नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।















