राष्ट्रपति भण्डारीलाई हनहन्ती ज्वरो, आज अस्पतालमै बस्ने

Thankot Times

थानकोट । 

अस्वस्थ भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पताल रहने भएकी छन्।

उनलाई तीन दिनदेखि ज्वरो आएको र हिजो वान्तासमेत हुने लगायतका समस्या देखिएपछि आज बिहान शिक्षण अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले  डेंगी, कोभिड १९, सुगर लगायतको विभिन्न परीक्षण गरिएको भए पनि सबै रिपोर्ट सामान्य आएको बताए।

तर पनि ज्वरो नरोकिएकाले अझै केही दिन अस्पतालमा नै रहन उनको उपचारमा संलग्न चिकित्सक वरिष्ठ फिजिसियन डा. निरज बमले बताए।

१०३ डिग्री भएकाले चिकित्सकहरुले डेंगु संक्रमण भएको अनुमान गरेर परीक्षण गरे पनि डेंगु नेगेटिभ आएको उनले बताए।

‘उहाँलाई दुई तीन दिनदेखि लगातार ज्वरो आएको रहेछ, हिजो वान्ता पनि भएछ, हामीले डेंगी कोभिड १९ लगायत परीक्षण गर्दा पनि रिपोट नर्मल आएको छ तर ज्वरो रोकिएको छैन, भाइरल ज्वरो भएको जस्तो छ हाल उहाँलाई स्लाइन दिएर राखेका छौँ, २४ घन्टा निगरानीको लागि आज अस्पतालमा नै राखिन्छ, त्यस पछिको अवस्था हेरेर हामी थप निर्णय गर्छौं’ डा. बमले भने।

हाल अस्पतालमा राष्ट्रपति भण्डारीको उपचारमा डा. बम सहितको टिमले उपचार गरिरहेका छन्।

हाल उनलाई शिक्षण अस्पतालको एनएक्स २ वार्डको ६०१ नम्बर बेडमा राखेर उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *