जुम्ल्याहा छोरासहित बाबु झुन्डिएको अवस्थामा भेटिए

Thankot Times

थानकोट । 

गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर–६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराहरूको शव झुन्डिएको अवस्थामा आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

“सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएको अवस्था फेला परेको छ,” उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।”

घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

घरबाट झन्डै डेढ किलोमिटर पश्चिम दक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ,” उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । तीनै जनाको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।”

बिहान स्थानीयले रुखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्धविच्छेद गरेर बसेका थिए । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *