कम हुन थाले डेंगुका बिरामी
थानकोट ।
जाडोयाम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीको संख्या कम हुँदै गएका छन् ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो ।
डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडोयाम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् ।
त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए । उनले दशैँको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरु कम भएको बताएको रातोपाटी अनलाइनमा खबर छ । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताए । उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।














