थानकोट क्षेत्रमा ट्राफिक प्रहरीको विशेष सवारी जाँच, १५ वटा सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
थानकोट ।
थानकोट क्षेत्रमा आइतबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका २६वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमा माइक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार तथा टाटासुमो लगायतका सवारी साधन छन् ।
आइतबार दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २६ वटा सवारी साधनलाई कारबाही गरिएको र १५ वटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
आइतबार भएको चेकिङमा १ सय ५५ वटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आइतबार दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको थानकोट क्षेत्रमा खटिएको थियो ।












