भद्रगोलबीच भव्य समारोहमा सकियो नवौँ राष्ट्रिय खेलकुद
थानकोट ।
माछापुच्छ्रे हिमालको पृष्ठभूमिलाई पछाडि राखेर नवौँ राष्ट्रिय खेलकुदका विभिन्न खेलका तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भए । हुन पनि प्रकृतिको अनुपम सुन्दरतालाई साक्षी राखेर पोखराले ३९ वर्षपछि खेलको महाकुम्भ आयोजना गर्यो । जुन मंगलबार सकिएको भएको छ ।
सामाजिक सञ्जालमा देखिएका ती सुन्दर तस्बिरका पछाडि खेलको व्यवस्थापन विवाद र अभाव नै सञ्चालन हुन पुगे । राष्ट्रिय प्रतियोगिता भएपनि खेलाडीले जर्सीसम्म पाएनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीलाई न समयमा खेल सामग्री उपलब्ध गरायो न समयमा नै खेल भए ।
प्रतियोगितामा एक खेलाडीले आफ्नो ज्यान गुमाए भने दर्जन खेलाडी घाइते भए । आयोजकले व्यवस्थापन गरेका होटल खाली भए । खेलका क्रममा पनि अनेक विवाद भए । ‘प्रोटेस्ट’ हाल्नेदेखि लिएर विरोधस्वरूप ग्राउन्डमा नै खेलाडी सुत्नेसम्मका घटना भए ।
यी अनेकन समस्याका बाबजुद पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा अनेकन कीर्तीमान बने । काखे छोरी लिएर खेल्नेदेखि ७ वर्षकी बालिका र ६१ वर्षका वृद्धलेसमेत खेलमा सहभागिता जनाए ।
विभागीय टिम त्रिभुवन आर्मीले सर्वाधिक पदकसहित पहिलोपटक बनाइएको ट्रफी आफ्नो पक्षमा पार्दै विजेता बन्यो ।
यही प्रतियोगितामा पहिलोपटक ४० जना खेलाडीको डोपिङ परीक्षण पनि गरियो ।
३९ वर्षअघि भएको दोस्रो खेलकुद प्रतियोगिता भएकै अधिकांश खेल मैदान प्रयोग गरी सम्पन्न गरिएको प्रतियोगिताको नयाँ भनेको पुनः निर्माण भएको फुटबल मैदानमात्रै हो ।
नवौँमा विवाद नभएको खेल सायदै रहेनन् । खेलाडीले पाएको जर्सीमा समेत खेलाडी स्वयम्ले खर्च उठाएर प्रदेशको नाम र अंक राखे । हक्कीमा खेलाडीले किट नपाएकै कारण ८ खेलाडीले खेल्न बाध्य भए । आर्चरीमा पनि आवश्यक खेल सामग्री नहुँदा जुगाड गरेरै खेल सम्पन्न भयो ।
पुरुष भलिबलमा त पुरानो म्याट भएकै कारण तीन जना खेलाडी घाइते नै भए । खेलाडीहरूले यातायात, होटल व्यवस्थापनलगायतको क्षेत्रमासमेत सास्ती खेप । एक खेल पदाधिकारीले केन्द्रिकृत मानसिकताका कारण प्रदेशको साथ नपाएको सुनाए । कुस्ती, बक्सिङ, सितोरियो कराँतेलगायत खेलमा त विवाद नै सिर्जना भयो ।
तर, समस्या विवाद, अभावमा सम्पन्न भएपनि खेलाडीहरूले भने पूर्ण जोसका साथमा खेल कौशल देखाए ।
अन्ततः भद्रगोलकाबीच पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको समापन भने भव्य समारोहमा भयो ।
समापनमा पोखरा रंगशालामा दर्शकको उपस्थिति हालसम्मकै बढी थियो । १६ हजार दर्शक धान्न सक्ने पोखरा रंगशालाको प्याराफिट दर्शकले भरिएको थियो । रंगशालामा पुरुष फुटबलतर्फको फाइनल खेल आर्मी र एपीएफबीच चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाको आगमन भएको थियो ।
दोस्रो हाफमा आइपुगेका देउवाले समेत फुटबल फाइनलको दोस्रो हाफ, त्यसपछि थपिएको ३० मिनेट समय र अन्तिममा ट्राइब्रेकर हेरे ।
दर्शकको चर्को हुटिङ र समर्थनका बीच ट्राइब्रेकरको ‘सडेन डेथ’मा विभागीय टिम सशस्त्र प्रहरीले अर्को महारथी नेपाल आर्मीलाई हराउँदा रंगशालामा दर्शकको खेलप्रेम झल्कियो ।
दर्शकले फाइनल खेलमात्रै हेरेनन्, समापनसम्मै आयोजकलाई साथ दिए ।
सातै प्रदेशका संस्कृति झल्किने नाचदेखि कलाकारहरूको सांगीतिक प्रस्तुतिमा दर्शकको भरपुर साथ थियो ।
सांस्कृतिक माहोलकाबीच दर्शकहरू फुटबल मैदानमा नै उत्रिएर नाचे । तस्बिर लिनेहरूको भिड उस्तै थियो । नवौँ खेलकुदलाई धेरैले आफ्नो मोबाइलमा कैद गरे, लाइभ गरेर अरूलाई देखाउनेको कमी पनि थिए ।
रंगशालका फ्लडलाइट अफ भए, अनि सुरु भयो आतिसबाजी र संगीत । त्यहाँ दर्शक झुमे, उनीहरूले आतिसबाजीको मनोरञ्जन पनि लिए ।
र, एक भव्य समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन भयो । ०८१ मंसिर २ देखि ९ गतेसम्म दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चाहिँ कर्णालीमा हुने भएको छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री र रासस















