धादिङ क्रिकेट लिगको उपाधी त्रिपुरासुन्दरीलाई
थानकोट ।
धादिङ क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरीय अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको उपाधी त्रिपुरासुन्दरी गाउँपालिकाले जितेको छ । धुनिबेसी नगरपालिकालाई ४ विकेटले पराजित गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाले उपाधी जितेको हो ।
च्याम्पियन हुँदै त्रिपुरासुन्दरीले १ लाख ३० हजार तथा उपविजेता धुनीबेसीले ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
विशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो।
११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो ।
धादिङ जिल्लाका ८ वटा गाउँपालिकाले भाग लिएको यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अमृत थापा बने। त्रिपुरासुन्दरीलाई उपाधी दिलाउन अमृत थापाले ९७ बलमा १३५ रन बनाउदै १२ विकेट लिएका थिए उनी प्रतियोगिताका उत्कृष्ट बलर पनि घोषित भए । प्रतियोगिताको उत्कृष्ट ब्याटर धुनिबेसीका कौशल रुपाखेती भए । कौशलले प्रतियोगिता अवधिभर १६८ बल खेल्दै २३९ रन बनाएका थिए ।















