८८औं पटक बिहे गर्दै ६१ वर्षीय पुरूष
थानकोट ।
६१ वर्षका एक पुरूषले आफ्नो जीवनको ८८औं बिहे गर्ने तयारी गरेका छन् । यो इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगको खबर हो ।
कोस्मो अनलाइन अनुसार ती वृद्धको नाम कान हो र उनी ‘प्ले ब्वाय किंग’को नामले पनि चर्चित छन् ।
पेशाले किसान रहेका कानले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् । ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए । अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी कानको छ ।
कानले १४ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनको पहिलो पत्नी त्यतिबेला १६ वर्षकी थिइन् । उनकै खराब बानीका कारण बिहेको २ वर्षपछि उनलाई पत्नीले छाडेकी थिइन् ।
हालसम्म ८७ पटक बिहे गरिसकेका कानको कुनै पनि पत्नीसँग दिगो सम्बन्ध रहन सकेन् । त्यति धेरै पत्नीहरुबाट उनका कति सन्तान जन्मिए त्यसको हरहिसाब पनि उनीसँग छैन् ।
यसअघि गिनिज बुकमा एक पुरूषले २७ पटक विवाह गरेको रेकर्ड दर्ता भएको छ ।













